कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिविरबाट ४ सय ६ जना स्थानीयले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् ।

वडाका समाजसेवी दिपेन्द्र सिंह ऐरीको पहलमा लायन्स क्लब अफ महाकाली इन्जिनियर्स महेन्द्रनगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालअन्तर्गतको महेन्द्रनगर आँखा अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय बासिन्दाको आँखा परीक्षण गर्नुका साथै आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो ।
गाउँमै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पाएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । आँखाको उपचारका लागि सदरमुकाम तथा टाढाका अस्पतालसम्म पुग्नुपर्ने बाध्यता र आर्थिक भार कम भएको उनीहरूको भनाइ छ । स्थानीयले यस्ता शिविर समय–समयमा सञ्चालन गर्न सके थप सहज हुने बताएका छन् ।
महेन्द्रनगर आँखा अस्पतालका नेत्र अधिकृत वीर सिंह धामीले विपन्न तथा पहुँचबाट टाढा रहेका नागरिकलाई आँखा उपचार सेवाको पहुँचमा ल्याउन हरेक वर्ष यस्ता निःशुल्क शिविर सञ्चालन गर्दै आएको बताउनुभयो । शिविरमा परीक्षणका क्रममा मोतिबिन्दुलगायत आँखाका विभिन्न समस्या देखिएको उहाँले जानकारी दिनुभयो । सामान्य समस्या भएका बिरामीलाई उपचार तथा चस्मा वितरण गरिएको र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई थप उपचारका लागि महेन्द्रनगर आँखा अस्पतालमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।
न्यून आय भएका तथा विपन्न नागरिकलाई आर्थिक अभावका कारण आँखा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ महाकाली इन्जिनियर्स र महेन्द्रनगर आँखा अस्पतालसँग समन्वय गरी शिविर सञ्चालन गरिएको समाजसेवी ऐरीले बताउनुभयो । उहाँका अनुसार शिविरमा आँखा परीक्षणसँगै आवश्यक औषधि तथा चस्मासमेत निःशुल्क वितरण गरिएको थियो ।
शिविरबाट ४ सय ६ जनाले सेवा लिएका छन् भने १ सय ५० जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । साथै, थप उपचार तथा शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई महेन्द्रनगर आँखा अस्पतालमा सिफारिस गरिएको आयोजकले जनाएको छ ।


