भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत हल्दुखाल क्षेत्रमा सडक आसपासका झाडी तथा बुट्यान सफाइ गरिएको छ। सडक किनारमा झाडी बढ्दै जाँदा पैदलयात्री तथा सवारीसाधन आवागमनमा समस्या हुनुका साथै सुरक्षा चुनौतीसमेत बढ्दै गएपछि स्थानीयको सक्रियतामा सरसफाइ अभियान सञ्चालन गरिएको हो।

शनिबार बिहान स्थानीय समाजसेवी, बुद्धिजीवी तथा वडा अध्यक्ष गणेश चन्दको सहभागितामा सडक आसपासका झाडी तथा बुट्यान काटेर सरसफाइ गरिएको हो। लामो समयदेखि सडकमा पर्याप्त बत्तीको व्यवस्था नहुँदा र सडक किनारमा झाडी बढ्दै जाँदा स्थानीयलाई आवतजावतमा कठिनाइ हुँदै आएको थियो। विशेषगरी बिहानको समयमा कलेज जाने छात्राहरूलाई सडकमा हिँडडुल गर्न असहज हुने गरेको स्थानीयको भनाइ छ।

सडकमा अँध्यारो र झाडीका कारण असुरक्षाको महसुस हुन थालेपछि स्थानीयस्तरबाटै सरसफाइ अभियान अघि बढाइएको भीमदत्त नगरपालिका–७ का वडा अध्यक्ष गणेशबहादुर चन्दले बताउनुभयो। उहाँका अनुसार केही दिनअघि बिहान मर्निङ वाकमा निस्किएकी एक महिलाको मोबाइलसमेत लुटिएको घटना भएको थियो। सडक आसपासका झाडीमा लागुऔषध प्रयोग गर्ने युवाहरू बस्ने गरेको पाइएपछि सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न र सडकलाई सुरक्षित बनाउन सरसफाइ अभियान आवश्यक ठानिएको उहाँले बताउनुभयो।

वडा अध्यक्ष चन्दले सडकको अँध्यारो हटाउन र स्थानीयको आवागमन सहज बनाउन सौर्यबत्ती जडानको तयारीसमेत भइरहेको जानकारी दिनुभयो। नगरपालिकाको पहलमा पहिलो चरणमा हल्दुखाल क्षेत्रको तिलकपुरदेखि हल्दुखाल हुँदै तिलाचौर र माताकुटीसम्मको सडकमा सौर्यबत्ती जडान गरिने उहाँले बताउनुभयो। यस क्रममा बाँकी रहेका सौर्यबत्ती पनि आवश्यकताका आधारमा अन्य स्थानमा जडान गरिने उहाँको भनाइ छ।

ब्रह्मदेव राजमार्ग लामो समयदेखि सडकको जीर्ण अवस्था, अतिक्रमण, झाडी तथा बत्तीको अभावजस्ता समस्याबाट प्रभावित हुँदै आएको छ। स्थानीय तथा प्रदेश र संघीय सरकारको पर्याप्त ध्यान पुग्न नसक्दा यस क्षेत्रका नागरिकले वर्षौंदेखि आवागमनमा समस्या झेल्दै आएका छन्। सडकको अवस्था सुधार, नियमित सरसफाइ र आवश्यक पूर्वाधार निर्माणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ।

स्थानीयको सहभागितामा गरिएको झाडी सफाइ र आगामी दिनमा हुने सौर्यबत्ती जडानले सडकको दृश्यता बढाउनुका साथै पैदलयात्री तथा सवारीसाधनको आवागमन सुरक्षित बनाउने अपेक्षा गरिएको छ। साथै सडक आसपास हुने सक्ने लागुऔषध प्रयोग तथा अन्य अवाञ्छित गतिविधि न्यूनीकरणमा समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ।

ताजा खबर

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राधा ओझाको निर्विरोध यात्रा, आगामी यात्राका लागी पार्टीसँग परामर्श गर्ने

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकाकी निवर्तमान उपप्रमुख राधा ओझा...

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?