कञ्चनपुर, १५ कार्तिक
भीमदत्त नगरपालिका–७ हल्दुखालमा सञ्चालन भएको अन्तरवडास्तरीय तेस्रो खुला पुरुष कबड्डी प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिका–८ तिलाचौरले जितेको छ। कार्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक १५ गते सम्पन्न भएको हो। प्रतियोगितामा ९ वटा टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा भीमदत्त नगरपालिका–८ तिलाचौर प्रथम, वडा नं। ६ दोस्रो तथा आयोजक वडा नं। ७ को ए टोली र वडा नं। १ को टोली तेस्रो भएका छन्। विजेता टोलीले क्रमशः ५५ हजार ५५५ रुपैयाँ, ३३ हजार ३३३ रुपैयाँ र १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलाडीहरूको हौसला बढाउँदै यस क्षेत्रले कबड्डी मात्र नभई विभिन्न खेलमार्फत राष्ट्रका लागि अविस्मरणीय योगदान पुर्याएको बताउनुभयो। उहाँले विगतमा पदक जितेर पनि उचित सम्मान पाउन नसकेका खेलाडी तथा यसपटक पनि राष्ट्रका लागि पदक हासिल गर्ने खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले खेलाडीले आफ्नो मेहनत र प्रतिभामार्फत देशको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
यसैगरी, प्रतियोगिताको अवसरमा खेलकुद क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई हेल्प नेपालका अध्यक्ष तथा धूम्रपान र लागुऔषध दुर्व्यसनविरुद्धको अभियानमा सक्रिय मदन चन्दले चार थान ट्र्याकसुट प्रदान गर्नुभएको थियो।

प्रतियोगितामा भीमदत्त नगरपालिका–६ का भूपेन्द्र बोहरा उत्कृष्ट रेडर तथा अनुशासित खेलाडी घोषित हुनुभयो। त्यसैगरी भीमदत्त नगरपालिका–८ का धिरज देउपा उत्कृष्ट डिफेन्डर, सुशील सुनार सर्वोत्कृष्ट खेलाडी र सफल भट्ट उदयमान खेलाडी घोषित हुनुभयो।
भीमदत्त नगरपालिका–७ का वडा अध्यक्ष गणेशबहादुर चन्दले युवाहरूको चौतर्फी विकासका लागि वडाले विभिन्न समयमा खेलकुदलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। शिक्षासँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उहाँले युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने र उनीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो।
समापन कार्यक्रममा समाजसेवी मदन चन्दले भौतिक विकाससँगै युवाहरूलाई लागुऔषध दुर्व्यसनबाट जोगाउनु पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। युवाहरू दिनप्रतिदिन दुर्व्यसनमा फस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको रोकथामका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो। देशको भविष्य युवाहरूको हातमा रहेकाले उनीहरूलाई दुर्व्यसनबाट जोगाउन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, प्रदेशसभा सदस्य शिवसिंह वलीलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा खेलकुदको विकास, प्रतिभावान् खेलाडीको पहिचान, खेलाडीको सम्मान तथा युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले क्षेत्रको खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


