कञ्चनपुर, ३० भदौ ।
राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका सार्वजनिक संरचना प्रयोगमा नआउँदै जीर्ण बन्दै गएका उदाहरण कञ्चनपुरमा थुप्रै छन् । यस्तैमध्ये एक हो, भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा निर्माण गरिएको बहुसांस्कृतिक संग्रहालय भवन । निर्माण सम्पन्न भएको वर्षौं बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ रुपैयाँ लगानी अहिले अलपत्र परेको छ ।
भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा निर्माण गरिएको बहुसांस्कृतिक संग्रहालय भवन २०७८ सालमै निर्माण सम्पन्न भयो । तर निर्माण सम्पन्न भएको करिब पाँच वर्ष पुग्न लाग्दा पनि भवन सञ्चालनमा आउन सकेको छैन । बरु प्रयोगविहीन भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।
चार करोडभन्दा बढीको लागत अनुमानमा निर्माण गरिएको भवन कसले सञ्चालन गर्ने भन्ने विषयमै सम्बन्धित निकायबीच स्पष्टता नहुँदा संरचना प्रयोगविहीन बनेको हो । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि भवन भीमदत्त नगरपालिकाको स्वामित्वमा हस्तान्तरण हुन सकेको छैन ।
स्थानीयका अनुसार ब्रह्मदेवमा २०४९÷५० सालमा टाउन प्लानिङ हुँदा बाल उद्यानका लागि छुट्याइएको करिब १० कट्टा बढी जग्गामा स्थानीयसँग पर्याप्त समन्वय नगरी सुदूरपश्चिम प्रदेशको शहरी विकास तथा भवन कार्यालय धनगढीले संग्रहालय भवन निर्माण गरेको हो ।
तर भवन निर्माण गरिए पनि त्यसको अपनत्व लिने निकाय स्पष्ट नहुँदा संग्रहालयभित्र राखिने बहुसांस्कृतिक संरचना खरिद तथा स्थापनाका लागि सामाजिक विकास कार्यालयमार्फत आउने बजेटसमेत पटक–पटक फ्रिज हुँदै आएको स्थानीयको भनाइ छ ।
धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण ब्रह्मदेव क्षेत्रमा निर्माण गरिएको भवन सञ्चालनमा ल्याउन स्थानीय तह र प्रदेश सरकार दुवैले चासो नदिँदा करोडौँको संरचना जीर्ण बन्दै गएको सिद्धनाथ मन्दिर व्यवस्थापन समिति ब्रह्मदेवका अध्यक्ष केशव सिंह नायक बताउनुहुन्छ ।
सुदूरपश्चिमका नौवटै जिल्लाको कला, संस्कृति र मौलिक पहिचान झल्काउने उद्देश्यले निर्माण गरिएको उक्त बहुसांस्कृतिक संग्रहालय भवनको कुल लागत अनुमान ४ करोड ५ लाख ४३ हजार ७ सय ६ रुपैयाँ ७७ पैसा रहेको छ ।
वाईआर कन्स्ट्रक्सनले २ करोड ८० लाख १० हजार ८ सय ९३ रुपैयाँ ४२ पैसामा निर्माण गर्ने गरी २०७६ साल कार्तिक ७ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ साल चैत्र ३ गते भवन निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन कार्यालय कैलालीका सब–इन्जिनियर दिनेश प्रसाद अवस्थी बताउनुहुन्छ ।
उहाँका अनुसार भवन निर्माण सम्पन्न भएपछि भीमदत्त नगरपालिकालाई हस्तान्तरण गर्न पहल गरिएको थियो । तर नगरपालिकाले स्वामित्व लिन नसकेपछि भवन प्रयोगमा आउन नसकेको हो ।
यता भीमदत्त नगरपालिकाले भने भवन हस्तान्तरणका लागि शहरी विकास तथा भवन कार्यालयबाट कुनै पत्र प्राप्त नभएको जनाएको छ ।निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि सम्बन्धित कार्यालयले भवनको स्वामित्व नगरपालिकालाई हस्तान्तरण नगरेका कारण नगरपालिकाले प्रयोग गर्न नसकेको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक बताउनुहुन्छ ।भवन नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण भए त्यसको निर्माण उद्देश्यअनुसार सञ्चालनमा ल्याउन कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।
कञ्चनपुरमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरी अलपत्र पारिएको यो पहिलो सार्वजनिक संरचना भने होइन जनताको करबाट जम्मा भएको राज्यको ढुकुटी खर्च गरेर महेन्द्रनगरमा करिब ७ करोड रुपैयाँको लागतमा निर्माण गरिएको सिटी हलसमेत लामो समयदेखि प्रयोगमा आउन सकेको छैन । कोरोनाकालमा करिब २९ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको होल्डिङ सेन्टर र महाकाली नदीको भुजेला घाटमा करिब ३ करोड रुपैयाँमा निर्माण गरिएको अन्त्येष्टि घाट पनि वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छन् ।
करोडौँ रुपैयाँ खर्च गर्ने, संरचना बनाउने अनि सञ्चालन र व्यवस्थापनको जिम्मेवारी कसको भन्ने प्रश्नसमेत नटुंग्याउने प्रवृत्तिले राज्यको लगानी मात्रै खेर गइरहेको छैन, सार्वजनिक सम्पत्तिसमेत बिस्तारै भग्नावशेषमा परिणत हुँदै गएको छ ।
सार्वजनिक संरचना निर्माण गर्नु उपलब्धि होइन, त्यसको सही प्रयोग र व्यवस्थापन गर्नु सरकारको वास्तविक जिम्मेवारी हो । त्यसैले ब्रह्मदेवको बहुसांस्कृतिक संग्रहालयसहित वर्षौंदेखि अलपत्र रहेका सार्वजनिक संरचनाको तत्काल स्वामित्व, सञ्चालन र व्यवस्थापनको स्पष्ट जिम्मेवारी तोकेर प्रयोगमा ल्याउन सम्बन्धित निकायले ठोस योजना बनाउन आवश्यक देखिन्छ ।


