कञ्चनपुर १७ भदौ
विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको एक निजी विद्यालयले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ८ लाख २५ हजार रुपैयाँ सहयोग गरेको छ।
भीमदत्त नगरपालिका–३, महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमी (एलबीए) ले विद्यालय, शिक्षक–कर्मचारी र विद्यार्थीबाट संकलित रकम बाढीपीडितको राहतका लागि उपलब्ध गराएको हो।
विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनीका अनुसार कुल सहयोगमध्ये विद्यालयको तर्फबाट ३ लाख ५३ हजार ८ रुपैयाँ संकलन भएको थियो। त्यस्तै शिक्षक तथा कर्मचारीबाट २ लाख ४४ हजार ७ सय ६२ रुपैयाँ र विद्यार्थीबाट २ लाख २७ हजार २ सय ४० रुपैयाँ जुटाइएको हो।
बाढीपीडितका लागि रकम जुटाउन विद्यार्थीले समेत आफ्नो खाजा खर्च कटौती गरेका थिए। विद्यालयले संकलित रकममध्ये ७ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। बाँकी रकममध्ये ५० हजार रुपैयाँ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ९एनप्याब्सन० र २५ हजार रुपैयाँ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० मार्फत सहयोग गरिएको विद्यालयले जनाएको छ।
एनप्याब्सन र हिसानले विभिन्न विद्यालय तथा संस्थाबाट संकलन भएको रकम एकीकृत गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेका छन्।
एलबीएका संस्थापकसमेत रहेका प्रिन्सिपल मौनीले यसअघि व्यक्तिगत रूपमा पनि बाढीपीडितका लागि १ लाख रुपैयाँ सहयोग गरेका थिए।
विद्यालयले विपद्का समयमा सहयोग गर्ने अभ्यासलाई निरन्तरता दिँदै आएको जनाएको छ। विगतमा पनि प्राकृतिक विपत्ति तथा संकटका बेला विद्यालय परिवारबाट आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको प्रिन्सिपल मौनीले बताए।
“राष्ट्रिय विपत्तिको समयमा पीडित परिवारलाई तत्काल राहत पुग्ने गरी आफूले सकेको सहयोग गर्नु सबैको दायित्व हो,” मौनीले भने, “विद्यालय परिवारबाट गरिएको यो प्रयास पीडितको दुःखमा केही राहत थप्ने उद्देश्यले हो।”
विद्यालय परिवारकै पहलमा विद्यार्थी, शिक्षक र कर्मचारीसमेत राहत अभियानमा जोडिएपछि निजी क्षेत्रका शैक्षिक संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने उदाहरणका रूपमा यसलाई हेरिएको छ।


