कञ्चनपुर १२ भाद्र
कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा महेन्द्रनगर बजारको व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ ।
संघले व्यवसायीहरुलाई करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, नाकामा व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा महेन्द्रनगर बजारको बन्द हुने समयसीमा बढाउन पहल गर्ने निर्णय गरेको छ । संघको बिहिबार बसेको बैठकले हाल राति १० बजे नै बन्द हुँदै आएको महेन्द्रनगर बजारको समयसीमा बढाउन सम्बन्धित निकायसँग समन्वय र पहल गर्ने निर्णय गरेको संघमा महासचिव राहुल भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार भीमदत्त नगरपालिकासँगको सहकार्यमा महेन्द्रनगर बजारको सौन्दर्यीकरण तथा बजारलाई थप व्यवस्थित बनाउने योजना रहेकोे छ । बजार क्षेत्रमा रहेका सार्वजनिक शौचालयलाई सञ्चालनमा ल्याउनुका साथै बजारलाई व्यवस्थीत गरी व्यवसाय प्रवद्र्धन र बजार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने संघले जनाएको छ ।
संघले जिल्लाका अन्य स्थानीय तहहरुसंग पनि सहकार्य गर्ने जनाएको छ । “हामीले भीमदत्तसंगै जिल्लाका अन्य पालिकाहरु संग पनि समन्वय गरेर सार्वजनिक शौचालय सञ्चालन तथा बजारलाई व्यवस्थीत गर्छौ ।” महासचिव भट्टले भन्नुभयो । वाणिज्य संघले महेन्द्रनगर बजारसंगै जिल्लाका अन्य बजारहरु समेत स्थानीय पालिकाको समन्वयमा व्यवस्थीत गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी संघले कोसेली घर सञ्चालनका लागि उद्योग उपाध्यक्ष तेजबहादुर चन्दलाई संयोजक तोकेको छ । स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन र बजारीकरणमा कोसेली घरलाई प्रभावकारी बनाउने लक्ष्य संघले लिएको महासचिव भट्टको भनाई छ ।
त्यस्तै महिला उद्यम विकास समितिको संयोजकमा संघका सदस्य सरिता भण्डारीलाई जिम्मेवारी दिइएको छ । संघले करदाता शिक्षा कार्यक्रममार्फत व्यवसायीलाई करसम्बन्धी जानकारी तथा दायित्वबारे सचेत गराउने, नाकामा हुने व्यावसायिक समस्या समाधानका लागि सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने जनाएको छ ।
बजार सौन्दर्यीकरण, सार्वजनिक शौचालय सञ्चालन, बजारको समयसीमा विस्तार तथा महिला उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमले महेन्द्रनगरको व्यापारिक वातावरण थप व्यवस्थित र व्यवसायमैत्री बन्ने अपेक्षा गरिएको छ ।
संघले व्यवसायिको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । वाणिज्य संघले आफ्ना सदस्यको दुई लाखको दुर्घटना बीमा समेत गरेको छ । व्यवसायिक हितसंगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत संघले गर्दै आएको छ ।


