कञ्चनपुर ११ भाद्र
विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिंह मौनीले रसुवाको बाढी प्रभावित क्षेत्रका लागि रु. १ लाख सहयोग गरेका छन्।
रसुवामा आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला प्रिन्सिपल मौनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रु. १ लाख प्रदान गरेका हुन्।
शिक्षा क्षेत्रमा सक्रिय मौनीले विद्यार्थीलाई पढाइसँगै सामाजिक जिम्मेवारी र मानवीय संवेदनाको पाठ पनि सिकाउनुपर्ने धारणा राख्दै विपद्को समयमा आफूले सकेको सहयोग गर्नु नागरिकको दायित्व भएको बताएका छन्।
उनको सहयोग रकम बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको राहत र उद्धार कार्यमा प्रयोग हुने अपेक्षा गरिएको छ। व्यक्तिगत रूपमा गरिएको यो सहयोगले विपद्को समयमा समाजका विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक रहेको सन्देशसमेत दिएको छ।
बाढीले पीडित बनाएका परिवारको दुःखमा आफ्नो तर्फबाट सानो भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले गरिएको मौनीको सहयोगलाई मानवीय सेवाको सकारात्मक उदाहरणका रूपमा लिइएको छ।


