कञ्चनपुर, ३१ साउन
नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा सञ्चालित ‘नेतृत्वमा समुदाय’ कार्यक्रमको समीक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम महेन्द्रनगरमा सम्पन्न भएको छ।
द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहराको अध्यक्षता तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कञ्चनपुरका भीमदत्त, बेदकोट, बेलौरी, लालझाडी, कृष्णपुर, शुक्लाफाँटा लगायतका स्थानीय तहमा ‘नेतृत्वमा समुदाय’ कार्यक्रममार्फत भएका गतिविधि तथा उपलब्धिबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममार्फत कञ्चनपुरका ५३ जना द्वन्द्व प्रभावित महिलालाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति १ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराउनुका साथै आवश्यक सहयोग गरिएको जनाइएको छ। ‘नेतृत्वमा समुदाय’ कार्यक्रममार्फत सशस्त्र द्वन्द्वका क्रममा यौन हिंसामा परेका महिलाको जीविकोपार्जन सुधारका लागि सहयोग गर्दै आएको र कार्यक्रममा सहभागी हुन छुटेका पीडितहरूलाई आगामी वर्ष पनि निरन्तर सहयोग गरिने द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहराले बताउनुभयो।
लामो समयदेखि द्वन्द्वमा परेका महिला तथा एकल महिलाको हकहितमा काम गर्दै आएको द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रद्वारा सञ्चालित ‘नेतृत्वमा समुदाय’ कार्यक्रमको समीक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रममा द्वन्द्वपीडित महिलाको आर्थिक पुनर्स्थापनासँगै उनीहरूले भोग्दै आएका समस्या, आवश्यक सहयोग तथा आगामी कार्यक्रमका प्राथमिकताबारे समाजसेवी, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत सरोकारवालासँग छलफलसमेत गरिएको थियो।


