कञ्चनपुर, २८ साउन ।
परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा प्रभावकारी बनाउँदै कञ्चनपुरमा द्रुत डाँक (EMS) सेवा विस्तार गर्ने तयारी अघि बढाइएको छ। हुलाक सेवालाई नागरिक मैत्री र व्यवसायमैत्री बनाउने उद्देश्यसहित हुलाक सेवा विभागले सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।
बिहीबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अन्तरक्रियामा हुलाक सेवाको वर्तमान अवस्था, द्रुत डाँक सेवाको सम्भावना, सेवा विस्तारका चुनौती तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। हुलाक सेवा विभागको आयोजना तथा जिल्ला हुलाक कार्यालय कञ्चनपुरको सहजीकरणमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यता रहेको थियो भने हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बोहराले बदलिँदो प्रविधि र नागरिकको आवश्यकतालाई ध्यानमा राख्दै हुलाक सेवालाई आधुनिक सूचना केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले हुलाकको पुरानो पहिचानलाई पुनः स्थापित गर्दै युवालाई हुलाक सेवासँग जोड्नुपर्ने र नागरिकलाई सहज तथा भरपर्दो सरकारी सूचना उपलब्ध गराउने माध्यमका रूपमा हुलाकलाई विकास गर्नुपर्ने बताउनुभयो।
उहाँले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै हुलाक सेवामा चुनौती थपिए पनि नयाँ प्रविधिको सही प्रयोगमार्फत हुलाकलाई अझ प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो। साथै डिजिटल माध्यमको नियमन र नागरिकलाई विश्वसनीय सूचना उपलब्ध गराउने क्षेत्रमा समेत हुलाक सेवाको भूमिका महत्वपूर्ण हुन सक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले कञ्चनपुर र कैलालीमा द्रुत डाँक सेवा सञ्चालनका लागि भौगोलिक अवस्था अनुकूल रहेको बताउनुभयो। यातायातका साधन तथा व्यवस्थापनको उचित प्रबन्ध गर्न सके सेवा छिट्टै सञ्चालन गर्न सकिने उहाँले जानकारी दिनुभयो।
द्रुत डाँक सेवामार्फत कागजात तथा आवश्यक सामग्रीलाई छिटो र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउन सकिने विभागको अपेक्षा छ। यसका लागि आवश्यक पूर्वाधार, यातायात व्यवस्थापन तथा सेवा सञ्चालनको तयारीलाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ।
महानिर्देशक पंगेनीले हुलाक टिकटमा सुदूरपश्चिमका ऐतिहासिक सम्पदा, व्यक्तित्व तथा महत्वपूर्ण स्थानलाई प्राथमिकता दिने तयारीसमेत भइरहेको बताउनुभयो। यसबाट स्थानीय इतिहास, संस्कृति र सम्पदाको प्रचारप्रसारसँगै पर्यटन प्रवर्द्धनमा समेत हुलाक सेवाले योगदान पुर्याउन सक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा डिजिटल प्रविधिको तीव्र विकाससँगै परम्परागत हुलाक सेवाको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो। नागरिकको आवश्यकता र निजी क्षेत्रको बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै हुलाकलाई छिटो, सुरक्षित, भरपर्दो र व्यवसायमैत्री सेवा प्रदायक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
हुलाक सेवा विभागका अधिकारीहरूले प्रस्तुत गरेको कार्यपत्रमा हुलाक सेवाको वर्तमान अवस्था, द्रुत डाँक सेवाको सम्भावना, सेवा विस्तारका चुनौती तथा आगामी रणनीतिबारे जानकारी गराइएको थियो। कार्यक्रममा सहभागी सरोकारवालाले हुलाक सेवालाई समयअनुकूल बनाउन सेवाको गुणस्तर, प्रविधिको प्रयोग, समयमै डेलिभरी, निजी क्षेत्रसँगको सहकार्य तथा नागरिकको बदलिँदो आवश्यकतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधि लगायत विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो।
हुलाक अधिकृत रोशन पाण्डे तथा शाखा अधिकृत शीतल सिंह उखेडाले हुलाक सेवाको वर्तमान अवस्था, द्रुत डाँक सेवाको सम्भावना, सेवा विस्तारका चुनौती तथा आगामी रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर हुलाक सेवाको पुनरावलोकन तथा सेवा सुधारलाई अघि बढाइने आयोजकले जनाएको छ। सरकारी सूचना नागरिकसम्म सहज रूपमा पुर्याउनेदेखि डिजिटल सेवा, पार्सल तथा द्रुत डाँकजस्ता सेवाको विस्तारसम्म हुलाकको भूमिकालाई फराकिलो बनाउने तयारी भइरहेको बताइएको छ।
कञ्चनपुर र कैलालीमा द्रुत डाँक सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सके सरकारी तथा निजी कागजात, पार्सल र अन्य आवश्यक सामग्रीको छिटो तथा सुरक्षित ढुवानीमा सहजता पुग्ने अपेक्षा गरिएको छ। यससँगै पुरानो हुलाक सेवाले नयाँ प्रविधि र बदलिँदो आवश्यकतासँग आफूलाई जोड्दै आधुनिक, प्रतिस्पर्धी र व्यवसायमैत्री सेवाका रूपमा पुनः स्थापित हुने विश्वास गरिएको छ।


