काठमाडौं । नेपाली मौलिकता, राष्ट्रिय गौरव र आधुनिक गुणस्तरलाई एउटै ब्रान्डमा समेट्ने उद्देश्यसहित ग्वालेक ग्रुपअन्तर्गत सञ्चालित अमृत डिस्टिलरीले नयाँ प्रिमियम भोड्का ब्रान्ड ‘.८६’ सार्वजनिक गरेको छ।
ग्वालेक ग्रुपका अध्यक्ष पीताम्बर जोशीका अनुसार ब्रान्डको नाम पछिल्लो पटक अद्यावधिक गरिएको सगरमाथाको उचाइ ८,८४८.८६ मिटरबाट प्रेरित भएर चयन गरिएको हो। विश्वको सर्वोच्च शिखर सगरमाथाले बोकेको नेपाली गौरव, साहस र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरको उत्पादनमार्फत विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले ‘.८६’ बजारमा ल्याइएको उहाँले बताउनुभयो।
अध्यक्ष जोशीले ‘.८६’ केवल एक पेय पदार्थको ब्रान्ड नभई नेपाली आत्म गौरव, मौलिकता र उत्कृष्ट गुणस्तर प्रतिको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गर्नुभयो। स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको उत्पादन सम्भव छ भन्ने सन्देश दिन यो ब्रान्ड विकास गरिएको उहाँको भनाइ छ।
कम्पनीका अनुसार उत्पादन प्रक्रियामा आवश्यक कच्चा पदार्थ तथा अत्याधुनिक प्रविधिसम्बन्धी सामग्री स्विडेनबाट आयात गरिएको छ। त्यस्तै, उत्पादनको आकर्षण बढाउने उद्देश्यले यसको आधुनिक र प्रिमियम बोतल चीनमा विशेष डिजाइन तथा निर्माण गराई नेपाल ल्याइएको जानकारी दिइएको छ।
उच्च गुणस्तर, आधुनिक प्याकेजिङ र नेपाली पहिचानलाई केन्द्रमा राखेर तयार गरिएको ‘.८६’ ले स्वदेशी बजारमा नयाँ स्वाद र अनुभव प्रदान गर्नुका साथै आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा समेत नेपालको प्रतिनिधित्व गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
अमृत डिस्टिलरीले नेपालीपन, अत्याधुनिक प्रविधि र विश्वस्तरीय गुणस्तरको समिश्रणमार्फत उपभोक्तालाई फरक अनुभव दिने लक्ष्यका साथ ‘.८६’ ब्रान्ड सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार यो ब्रान्ड नेपालकै पहिचानलाई विश्व बजारमा स्थापित गर्ने दीर्घकालीन अभियानको महत्वपूर्ण कदमका रूपमा अघि बढाइएको हो।


