कञ्चनपुर, ११ साउन
विपद्को समयमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी, छिटोछरितो र व्यवस्थित बनाउन आवश्यक सामग्री तथा सेवाको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले कञ्चनपुरको महेन्द्रनगरमा विपद् पूर्वबजार लेखाजोखा सम्बन्धी दुईदिने पालिका स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ।
निड्स नेपाल र अक्सफामको सहयोगमा सञ्चालित स्कोप आर–थ्री परियोजनाअन्तर्गत साउन १० र ११ गते आयोजना गरिएको कार्यक्रममा कञ्चनपुरका भीमदत्त नगरपालिका, दोधारा–चाँदनी नगरपालिका, बेलडाँडी गाउँपालिका तथा डडेलधुराको परशुराम नगरपालिकाका जनप्रतिनिधि, विपद् व्यवस्थापन सम्पर्क व्यक्ति तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले विपद् व्यवस्थापनमा पूर्वतयारी नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै विपद् पूर्वबजार लेखाजोखाले स्थानीय तहलाई थप सक्षम र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विपद्को अवस्थामा आवश्यक राहत सामग्री, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू कहाँ, कति परिमाणमा र कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा पूर्वतयारी गर्न सकिने भएकाले विपद् व्यवस्थापन अझ प्रभावकारी हुने बताउनुभयो।
उहाँका अनुसार विपद् आइपरेपछि सामग्रीको खोजीमा समय खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्न तथा बजार प्रणालीसँग प्रभावकारी समन्वय कायम गर्न यस्तो अभ्यास महत्वपूर्ण हुनेछ।
भीमदत्त नगरपालिका–४ का वडा अध्यक्ष सुशीलकुमार भट्टले दुईदिने छलफलबाट बजार विश्लेषण, आपूर्ति व्यवस्थापन तथा विपद्का बेला आवश्यक पर्ने सामग्रीको उपलब्धताबारे व्यवहारिक ज्ञान प्राप्त भएको बताउनुभयो। उहाँले छलफलबाट सिकेका विषयलाई पालिकास्तरमा कार्यान्वयन गर्दै विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्कोप आर–थ्री परियोजनाका संयोजक ईश्वरप्रसाद उपाध्यायले विपद्का कारण स्थानीय बजारमा पर्न सक्ने प्रभाव, आपूर्ति प्रणालीको अवस्था तथा निजी क्षेत्रसँगको समन्वयलाई मध्यनजर गर्दै पूर्वबजार लेखाजोखा गरिएको जानकारी दिनुभयो। उहाँले विपद् पश्चात् राहत सामग्री र अत्यावश्यक सेवाको अभाव हुन नदिन पूर्वतयारीस्वरूप बजारको अवस्था, उपलब्ध स्रोत र आपूर्ति क्षमताको अध्ययन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रममा प्रशिक्षक केशवदत्त भट्टले विपद् पूर्वबजार लेखाजोखा, बजार विश्लेषण, आपूर्ति शृङ्खला व्यवस्थापन, स्थानीय स्रोत–साधनको पहिचान तथा विपद् व्यवस्थापन योजनामा बजार प्रणालीलाई कसरी समेट्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो।
आयोजकका अनुसार छलफलले सहभागी पालिकाहरूलाई विपद् व्यवस्थापन योजनालाई अझ व्यवहारिक, प्रभावकारी तथा समुदायमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै विपद्को समयमा राहत वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन स्थानीय सरकारबीच समन्वय तथा अनुभव आदानप्रदानमा समेत कार्यक्रम उपयोगी बनेको जनाइएको छ।
कार्यक्रमको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखकको प्रमुख आतिथ्यतामा भएको थियो भने समापन समारोह दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


