कञ्चनपुर, २९ असार
कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे) माथिबाट गएको विद्युत् प्रसारण लाइन हटाउन माग गर्दै मझगाउँ विमानस्थल पुनः सञ्चालन संघर्ष समितिले नेपाल विद्युत प्राधिकरण, महेन्द्रनगर वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ ।
सोमबार संघर्ष समितिका संयोजक तथा पूर्व डिभिजन वन अधिकृत (डीएफओ) रमेश चन्दको नेतृत्वमा गएको टोलीले वितरण केन्द्रका प्रमुख इन्जिनियर सन्तोष श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै रनवेमाथिको विद्युत् लाइन तत्काल व्यवस्थापन गरी विमानस्थल सञ्चालनमा सहयोग गरिदिन आग्रह गरेको हो ।
समितिले पटक–पटक अनुरोध गर्दा पनि विद्युत् प्रसारण लाइन नहटाइएकाले विमानस्थलको निर्माण कार्य तथा परिक्षण उडान समेत प्रभावित भएको समितीले जनाएको छ । ज्ञापनपत्रमा हालसम्म करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको भए पनि रनवे माथिको विद्युत् लाइनका कारण परीक्षण उडानसहित बाँकी काममा अवरोध सिर्जना भएको उल्लेख गरिएको छ । संघर्ष समितिका सचिव राजेन्द्रबहादुर चन्दले विमानस्थल सञ्चालनमा विद्युत् लाइन नै सबैभन्दा ठूलो अवरोध बनेको बताउँदै सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन । उनले लामो समयदेखि स्थानीयवासीले विमानस्थल पुनः सञ्चालनका लागि निरन्तर संघर्ष गरिरहेको उल्लेख गर्दै अब पनि समस्या समाधानमा ढिलाइ भए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए ।
यता नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख इन्जिनियर सन्तोष श्रेष्ठले निर्माणाधीन विमानस्थल क्षेत्रबाट विद्युत् प्रसारण लाइन हटाउने विषयमा सम्बन्धित विभागमा पत्राचार गरिसकिएको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८३।८४ मा उक्त कार्य सम्पन्न गर्ने गरी विभागबाट निर्देशन प्राप्त भइसकेको छ र आवश्यक बजेट सुनिश्चित भएपछि विद्युत् लाइन स्थानान्तरणको काम अघि बढाइने बताउनु भएको छ ।
करिब आठ दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल स्थानीयवासीको लामो संघर्ष पछि र पहलपछि पुनर्निर्माणको काम भईरहेको छ । संघर्ष समितिले विमानस्थल निर्माणको बाँकी कामलाई गति दिन विद्युत् लाइन स्थानान्तरणलाई उच्च प्राथमिकतामा राख्न सरकार र सम्बन्धित निकायसँग माग गरेको छ । माग समयमै सम्बोधन नभए थप दबाबमूलक आन्दोलनका कार्यक्रम अघि बढाइने समितिको चेतावनी छ।


