
कञ्चनपुर ११ असार
सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार आयोजना गर्ने भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने समारोहमार्फत विभिन्न तह र संकायका २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित हुने भएका छन्।
दीक्षान्त समारोहमा सहभागी हुनेमध्ये ७ सय ६७ विद्यार्थी भौतिक रूपमा उपस्थित रहनेछन् भने अन्य विद्यार्थीलाई समेत दीक्षित गरिने विश्वविद्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र कृषि विज्ञान गरी ६ वटा संकायका विद्यार्थी दीक्षित हुन लागेका हुन्। दीक्षित हुनेहरूमा स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि (पिएचडी) तहका विद्यार्थी समावेश छन्।
भौतिक रूपमा सहभागी हुने विद्यार्थीमध्ये मानविकी संकायका ५०७ मध्ये १८२, व्यवस्थापनका ७८२ मध्ये २३९, शिक्षा संकायका ८९० मध्ये २४२, विज्ञान तथा प्रविधिका ८६ मध्ये १८, इन्जिनियरिङका १२२ मध्ये ५३ तथा कृषि विज्ञान संकायका १०२ मध्ये ३३ विद्यार्थी रहनेछन्।
यस वर्ष विभिन्न विधामा पदक वितरणको कार्यक्रम पनि रहेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन संकायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान संकायका कैलाशराज भट्टले प्राप्त गर्ने भएका छन्। यद्यपि चान्सलर पदक सम्बन्धी विषयमा छात्रा रेखा जोशीले उच्च अदालतमा रिट दायर गरेपछि उक्त पदकको वितरण हालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक रोकायाले जानकारी दिइन्।
स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीमा ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेमबहादुर रोकाया, दिवाकर पन्त, भरत साउद, कविता जोशी, रजिन बोहरा तथा कैलाशराज भट्ट रहेका छन्। त्यसैगरी डिन्स पदक मथुरा प्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउदलाई प्रदान गरिनेछ। विश्वविद्यालयमा पहिलो पटक चार जना विद्यार्थीलाई डिन्स पदक प्रदान गर्न लागिएको हो।
यसपटक विद्यावारिधि पूरा गर्ने पहिलो महिला विद्यार्थीका रूपमा डा. तुलसीकुमारी शर्मा दीक्षित हुँदैछिन्। यसअघि विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो विद्यार्थी विश्व अधिकारी रहेका थिए।
समारोह विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री रघुजी पन्तको अध्यक्षतामा हुने कार्यक्रम रहेको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रकाश रावल, सामाजिक विकासमन्त्री बेलबहादुर राना लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहनेछ।
विश्वविद्यालयका निर्देशक हरिश भट्टले दीक्षान्त समारोहलाई विद्यार्थीहरूको विशेष उत्सवका रूपमा मनाउन लागिएको बताउँदै अभिभावकसहितको व्यापक सहभागिताले कार्यक्रम थप उत्साहपूर्ण बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार संस्कृतविद् तथा साहित्यकार प्रा.डा. तुलसीप्रसाद जोशी (दिलसी दिवस) प्रमुख अतिथिका रूपमा समारोहमा सहभागी हुनेछन्।
स्थापनाको १६ वर्षको अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले हालसम्म पाँचवटा दीक्षान्त समारोह सम्पन्न गरिसकेको छ भने आज छैटौँ दीक्षान्त समारोह आयोजना गर्न लागेको हो।


