कोरोना कहरः सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जानेको लर्को बढ्दै

 

कञ्चनपुर,५ असार । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन। तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ।

सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ। “ डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदूरी गर्न जादैछु”, कञ्चनपुरको पुर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिडेका दिपेन्द्र खड्काले भने, “ यहाँ बसेर कोरोनाबाट त बाच्यौ तर भोकले मर्ने स्थिती बनेपछि मुग्लान जानुको विकल्प रहेन।”

कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखःद कुरो भएको बताए। “ कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जिविका चलाउने मन थियो”, उनले भने,“ पारिवारिक अवस्था कम्जोर त्यो सम्भव भएन्।”

गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहेपनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न शहर जाने क्रम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौदेखि भारत नै हो।

डोकेबजारस्थित प्रहरी चौकीका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले गत जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सय भन्दा बढी नेपाली भारत रोजगारीका लागि गएको जानकारी दिए। “ भारतबाट स्वदेश फर्किनेहरुलाई गन्तव्यमा पु¥याउन नाकामै बसको व्यवस्था गरिएको छ”, उनले भने, “ बसहरु गन्तव्यमा यात्रु पु¥याएर फर्किदा त्यसैमा भारत जाने आउछन्।”

उनले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालिकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जान यहाँ आइरहेको बताए। प्रहरी नायव निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए।

“अहिले त महिला, बालबालिका गरी सिङ्गो परिवारसहित भारत गइरहेका छन्”, उनले भने, “ यो नाकाबाट दिल्ली, मुम्बै, पुना, गुजरात लगायतका शहरमा बढी जादा रहेछन्।”

त्यसैगरी शुक्रबार श्रीमानसहित कामका लागि भारतको पञ्जाव जान लागेकी डडेल्धुराकी धनादेवी जोशीले आफूहरु लामो समयदेखि भारतमा रोजगारीमा रहेर परिवारको जिविका चलाउँदै आएको बताए। “यहाँ त कोरोनाको बेलामा कामसमेत पाउँने स्थिती छैन”, उनले भने, “ कोरोनाको समयमै रोगले भन्दा भोकले मर्ने चिन्ताले परिवारसहित भारत जादैछौं।”

केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरु दैनिक रुपमा भारत जाने क्रम बढ्दै गएको हो। शुक्रबारको तथ्याङ्क हेर्दा गौरीफन्टा नाकाबाट ७ सय जना भन्दा र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएका छन्।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भारत जाने क्रम यहाँका नाकाबाट बढेको बताए। “ कोरोना कहर कम हुँदै जादा आउनेहरु घटेका छन्”, प्रवक्ता थापाले भने,“ नाका खुलिनसकेकाले भारतीयलाई भने यहाँ आउन दिइएको छैन्।”

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?